काठमाडौँ। हमासको आक्रमणपछि इजरायलबाट बेपत्ता भएका विपिन जोशी जीवित नरहेको सूचना आए पनि परिवारले अझै आशा मारेको छैन । हमासले बन्धकहरू छो...
काठमाडौँ। हमासको आक्रमणपछि इजरायलबाट बेपत्ता भएका विपिन जोशी जीवित नरहेको सूचना आए पनि परिवारले अझै आशा मारेको छैन । हमासले बन्धकहरू छोड्न अझै पनि बाँकी रहेकाले अहिले नै आश मार्न नसकिने उनका दाजु किशोर जोशीले बताए ।
‘युद्धविराम क्रममा आज बन्धकहरू रिहा भइरहेका छन् । बिहान इजरायलसँग पनि कुरा भयो हमासले आधिकारिक रूपमा छोड्नेमा अझै मान्छेहरू बाँकी छन्,’ दाजु किशोरले कञ्चनपुरस्थित निवासमा भने, ‘त्यसैले हामीलाई अझै आशा बाँकी छ । भाइ आउँछ भन्ने आशा छ । निराश हुनुपर्ने ठाउँ छैन ।’
इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावास र विपिनको परिवारका सदस्यहरूलाई दिएका छन् ।
इजरायली अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरूलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले जानकारी दिए ।
विपिन जीवित नरहेको भनिए थप विवरण प्राप्त हुन सकेको छैन ।

No comments
Do you leave your Comments?